शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

फ्रेट फरवार्डस व्यवसायीहरूको छाता संगढन, नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) को २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको जनाइएको छ । उक्त साधारण सभामा नेफाको विधान संशोधन लगायतका एजेन्डाले प्राथमिकता दिइएको नेफाका निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्कीले बताएका छन् । उनका अनुसार नेफाको विधानमा प्रथम र द्वितिय अध्यक्षको पदलाई संशोधन गरी वरिष्ढ उपाध्यक्ष र उपाध्यक्ष पदले नामकरण गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा तीन कार्यकाल बिताई सोही पदमा उम्मेदवारी दिन नपाइने नेफाको विधानमा उल्लेख गरिएको थियो । यस बुँदामा संशोधन भई यसअघि कार्यकाल बिताइसकेका तथा खुल्ला प्रतिस्पर्धाबाट समेत केन्द्रीय सदस्यमा भिड्न पाइने व्यवस्था गरिएको छ । तर नेफाले यो व्यवस्था कार्यसमितिबाट पारित गरेपछि मात्र कार्यान्वयनमा ल्याउने छ ।

नेपाल फ्रेट फरवार्डस एसोसिएसनको साधारण सदस्यता पाउन फ्रेट व्यवसाय क्षेत्रमा दुई कार्य वर्ष अनुभवलाई अनिवार्य गरिए पनि आवश्यकता अनुसार सो कार्य वर्ष अघि पनि सदस्यता जारी गरिने प्रावधान राखिएको जानकारी गराइएको छ । त्यस्तै महासचिव, अशोक मान कपालीका अनुसार दुई कार्य वर्ष बिताएका फ्रेट कम्पनी , आन्तरिक मूल्याङ्कन पछि योग्य ठहर भएमा मात्र नेफाको सदस्यता दिइने छ । नेफा राष्ट्रिय स्तरको वस्तुगत तर्फको संघ भएकोले सदस्यता पाउन केही मापदण्डहरू पालना गर्नुपर्ने छ । हाल नेफामा संस्थागत तथा कम्पनीहरू समेत सदस्य सङ्ख्या १३२ पुगेको जनाइएको छ ।

देशको अन्तर्राष्ट्रिय वाणिज्य सरलीकरणमा हवाई पारवहनले प्रमुख रूपमा टेवा दिंदै आएको छ । यसतर्फ निर्यात कार्गो सामान राखिने गोदाम लगायतका भौतिक पूर्वाधार स्तरीकरणमा राज्यले बेवास्ता गरेको उक्त साधारण सभामा सहभागी फ्रेट व्यवसायीहरूले दाबी गरेका छन् । यसबाट आयात–निर्यातका कार्गो व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । अझ वर्षाको मौसममा निर्यातका लागि तैयारी अवस्थामा राखिएको गोदाममा पानी पसेर सामान बिग्रने हुनाले निर्यातकर्ताहरुले अनाहकमा दुःख पाउने गरेका छन् । राज्यको वैदेशीक मुद्रा आम्दानीको स्रोत, निर्यात कार्गो संरक्षणमा राज्यको विशेष व्यवस्था हुनुपर्ने बताइएको छ ।

निवर्तमान अध्यक्ष, कार्कीका अनुसार कोरोना महामारी पूर्णरुपमा नियन्त्रण नआएकोले विदेशी वायु सेवाका उडान हालसम्म नियमित हुन सकेको छैन । यसबाट हवाई फ्रेट शुल्कमा अत्यधिक वृद्धिले लजेष्टिक मूल्य अकासिदैं गएको छ । यसले निर्यात वाणिज्यमा सिधा असर परेकोले लजेष्टिक मूल्य घटाउनेतर्फ सरकारी निकाय सचेत रहनुपर्ने बताइएको छ ।

हाल देशको वैदेशिक मुद्रा सञ्चित व्यवस्थापन केही असहज परिस्थिति आएको छ । यसबाट प्रतीतपत्र खोल्न राष्ट्रबैंकले कडाइ गरेपछि खुम्चिएको वाणिज्यबाट फ्रेट व्यवसायमा परेको असरका विषयमा प्रश्न राख्दा, यस असहज परिस्थितिमा फ्रेट व्यवसायी तथा निजीक्षेत्रबाट राज्यलाई सहयोग गर्नुपर्ने बिजनेस वर्ड डिजिटल म्यागाजीनलाई बताइएको छ । उक्त साधारण सभामा कोरोना महामारीले निजी क्षेत्र र राष्ट्रिय अर्थतन्त्रमा परेको असरबाट जोगाउने विषयमा विशेष छलफल भई सकिएको थियो ।

तपाईको प्रतिक्रिया