शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवा संघको आयोजनामा , आधारभूत आयकर, भ्याट तथा भि.सी.टी.एस सम्बन्धी एक दिने व्यवसायीक तालिम कार्यक्रम सम्पन्न भएको जनाइएको छ । उक्त तालिम कार्यक्रम, चार्टर एकाउन्टेन्ट संस्था (ट्याक्स सोलुसन नेपाल) को तर्फबाट कुरियर व्यवसायीहरूको प्राविधिक क्षमता स्तरीकरणका लागि चाटेर एकाउन्टेन्ट (FCA) विनोद दाहालले प्रशिक्षण दिएका थिए । ट्याक्स सोलुसन नेपालले सहभागी ५४ कुरियर व्यवसायीलाई प्रमाण पत्र समेत वितरण गरेको जनाइएको छ ।

कोसानले कुरियर व्यवसायीहरूका लागि कर तथा भि.सी.टी.एस सम्बन्धी चेतना मूलक तालिम पहिलो पटक आयोजना गरेको हो । करका विषयमा पूर्ण जानकारी नहुँदा अन्तरदेशिय कुरियर सेवा दिँदै आएका व्यवसायीहरूका सामान, राजश्व अनुसन्धान विभागको कारबाहीमा पर्ने गरेको बताइएको छ । यही समस्यालाई सहजीकरण हुन यस प्रकारको प्राविधिक तालिम अत्यावश्यक भएको कोसानका अध्यक्ष देवेन्द्र खड्काले बताएका छन् ।

तालीम

राजश्व अनुसन्धान विभाग र अन्तरदेशिय कुरियर व्यवसायी बिच कर तथा भि.सी.टी.एस सम्बन्धी सहजीकरणमा कोसानका तर्फबाट अध्यक्ष – देवेन्द्र खड्का ,मनोनीत उपाध्यक्ष – सञ्जय मण्डल र महासचिव – राजकुमार सामरी सहितको तीन सदस्य प्रतिनिधि टोली गठन गरिएको बताइएको छ । अध्यक्ष खड्काका अनुसार हालै राजश्व अनुसन्धान विभाग र कोसान बिच भएको सहमति अनुसार सरकारी कर तथा भि.सी.टी.एसका नियम पालना हुन कुरियर व्यवसायीले सहकार्य गर्नेछ ।

त्यस्तै , कुरियर व्यवसायीले सामान मात्र ढुवानी गर्छ भने त्यस सामानको कर तिर्ने जिम्मेवारी सामान धनीको रहेको विषयमा सहमति भएको बताइएको छ । उक्त सहमति पछि अन्तरदेशिय, तर्फ कुरियरका सामान बोकेका भ्यानलाई, राजश्व अनुसन्धान विभागले अनाहकमा कारबाही नगरिने आश्वासन पाइएको अध्यक्ष खड्काले बताए , यस प्रकारको सहजीकरण पहिलो पटक भएको हो ।

हाल राज्यबाट अनिवार्य गरिएको भि.सी.टी.एस ऐन लागू हुन कुरियर व्यवसायीको पूर्ण सहयोग रहनेछ । अर्कोतर्फ भि.सी.टी.एस  ऐन पालना नभएका कन्साइनमेटलाई मात्र कारबाहीको दायरामा ल्याइने छ । सो  ऐन पालना नभएका कन्साइनमेन्टमा रु. २५ हजार जरिबाना लाग्ने गर्दछ ।

वाणिज्यको अभिन्न अंगको रूपमा सक्रिय रहेको कुरियर व्यवसायीको तर्फबाट राज्यको कर छली नियन्त्रण अभियानमा सहकार्य गरिनेछ । त्यस्तै अन्तरदेशिय कुरियर सेवालाई सहज बनाउन व्यवसायीहरूलाई कर तथा भि.सी.टी.एस सम्बन्धी कोसानबाट तालीम आयोजना गरिएको बताइएको छ ।

यस प्रकारको तालीमले व्यवसायीहरूलाई अनावश्यक कर तिर्नुपर्ने झन्झटबाट छुटकारा पाउनेछन् । त्यस्तै समयावधि भित्र कर चुक्ता गर्दाका फाइदाको विषयमा समेत व्यवसायीहरू सचेत हुने मौका पाएका छन् । अर्कोतर्फ सरकारी विभिन्न शीर्षकका कर समय भित्र संकलन भई , व्यवसायीहरूलाई जरिबानाबाट बचाउन यो तालिम प्रभावकारी भएको  बताइएको छ  । हाल कुरियर व्यवसायीहरूबाट वार्षिक आयकर शीर्षकमा मात्रै करिब ५० करोडको राजस्व संकलनमा सहकार्य गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया