शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकासमा क्यान इन्फोटेकले विशेष योगदान पुर्‍याउँदै आएको क्यान महासंघका महासचिव नारायण थापाले बताएका छन् । सन १९९५ देखि आयोजना हुँदै आएको प्रविधि जगतको कुम्भ मेला क्यान इन्फोटेकको २७ औ ससंकरण यस पटक, आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्यु आर मेला वैशाख ७ गते देखि भृकुटी मण्डपमा आयोजना गरिएको थियो । यस पटकको मेलामा तीन लाख अवलोकनकर्ता समेटिएको थियो ।

सूचना, सञ्चार तथा प्रविधिको पहुँच प्रत्येक नागरिकसम्म पुर्‍याउन क्यान इन्फोटेक सफल हुँदै आएको छ । इन्फोटेकमा प्रविधि जगतका हार्डवेयर तथा सफ्टवेयर बजार मूल्य भन्दा केही सस्तो दरमा पाइने हुनाले समेत नागरिकहरू प्रविधि प्रयोगतर्फ आकर्षित हुँदै गएका हुन् । यसले आज नेपाल धेरै हदसम्म डिजिटल युगमा रूपान्तरण हुन सहयोगी भएको उनले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेको उक्त प्रविधिजन्य मेला, वैशाख ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको थियो । क्यान इन्फोटेकमा एससिटी स्मार्ट क्यु आर प्रयोगलाई प्राथमिकता दिई, उच्च सख्ंयामा नागरिकलाई सहभागी गराउन प्रवेश शुल्क मात्र रु. १ राखिएको थियो ।

स्मार्ट क्यु आर प्रयोग गरी क्यान इन्फोटेकमा सहभागी हुनेको सख्ंया करिब १ लाख पुगेको थियो भने अन्य अवलोकनकर्ताले प्रवेश टिकट प्रयोग गरेका बताइएको छ । पहिलो दिनमा एससिटी स्मार्ट क्यु आर प्रयोग भई ३० हजार व्यक्तिले इन्फोटेक अवलोकन गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको रूपमा आयोजना हुँदै आएको छ । क्यान इन्फोटेक यो २७ औँ संस्करण यस अघि कोभिड १९ तथा सोही सम्बन्धी नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो । दुई वर्षपछि सम्पन्न भएको यस वर्षको इन्फोटेकमा कुल २४० स्टल संख्या रहेको थियो । यस पटक स्टार्टअप तर्फका नेपाली कम्पनीहरू मध्ये नेपाल विज्ञान तथा प्रविधि (नास्ट) लगायत सस्थाहरुको २६ स्टल समावेश रहेको महासचिव, थापाले जानकारी गराएका छन् ।

यसअघिका क्यान इन्फोटेकमा बहुराष्ट्रिय कम्पनीहरूको नेपालका आधिकारिक बिक्रेताहरू उच्च सहभागिता हुँदै आएकोमा यसपटक क्यान इन्फोटेकमा नेपालका आइ.टी कम्पनीहरूले समेत उत्साहजनक रूपमा सहभागी भएका थिए । नेपाली सफ्टवेयरको बजार फराकिलो बनाउन क्यान महासंघबाट सफ्टवेयर समिट समेत आयोजना गर्दे आएको छ ।

मेलामा चीन,कोरिया, जापान, भारत लगायत देशका ११५ बहुराष्ट्रिय कम्पनीहरू सहभागी थिए । यो सहित विदेशी हार्डवेयर ब्रान्डका नेपाली आधिकारिक बिक्रेता तथा तीनका प्रतिनिधिहरूले सूचना,सञ्चार तथा प्रविधिजन्य उत्पादन प्रदर्शन गरिएको थियो । नेपालको तर्फबाट मेलामा सहभागी हुने सफ्टवेयर, स्टार्टअप तथा इनोभेसन सम्बन्धी कम्पनीहरूको उच्च संख्या सहभागिता रहेको बताइएको छ ।

क्यान महासंघका महासचिव नारायण थापाका अनुसार यस अघि क्यान इन्फोटेक कोरोनाका कारण आ.व २०७८ को माघ १८ देखि २३ गतेसम्म आयोजना गरिने योजना भएपनि सरकारी स्वास्थ्य मापदण्डका कारण रोकियो । सूचना प्रविधि क्षेत्रमा इन्फोटेकको अत्यधिक मागपछि इन्फोटेकको २७ औँ संस्करण वैशाखमा आयोजना हुँदा, प्रतिकूल मौसम रहेपनि मेलामा सहभागिता थप उत्साहजनक रहेको थियो । क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनी समेतको व्यवस्था गरिएको थियो । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसंग सहकार्य गरेको थियो ।

ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाल लगायत अन्तर्राष्ट्रिय संस्था विट्सा ,असोसियोको प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग एवं समर्थन रहेको थियो ।

तपाईको प्रतिक्रिया