शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

विगत केही दिन देखि विभिन्न सञ्चारमाध्यममा बुटवलबाट औषधीमा नयाँ मूल्य राखी विक्री वितरण गर्दे गरेको आरोपमा तीन जना पक्राउ परेको समाचारले यो सप्ताहमा चर्चा पाएपछि नेपाल औषधि उत्पादक संघ (एप्पोन) को गम्भीर ध्यानाकर्षण भई विज्ञप्ति जारी गरेको छ । बुटवलबाट मिति सकिएका स्वास्थ्यवर्धक (फुड–सप्लिमेन्टहरू) मा मात्र नयाँ मूल्य राखी विक्री गरिएको अवस्थामा फेला परेको थियो । त्यसमा औषधि नपरेको भनी संघले खण्डन गरेको छ । प्रशासनबाट उक्त गोदामहरूमा छापा मार्दा बरामद भेटिएका वस्तुहरू नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीहरू नभई फुड–सप्लिमेन्टहरू मात्र रहेको सघले जनाएको छ ।

केही वर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधी जस्तै बनावट तथा प्याकिङ गरी, औषधीको तुलनामा उच्च मूल्यमा यस्ता उत्पादन बिक्री वितरण भइरहेका छन् । सरकारबाट नेपाली औषधि उद्योगलाई फुड सप्लिमेन्ट उत्पादनमा बन्देज लगाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सिफारिसमा यी वस्तुहरू खुल्ला आयात भइरहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रविधिजन्य स्वास्थ्य सम्बन्धी निर्देशिका जारी गरिसकेपनि यस्ता उत्पादन नेपाली औषधी उद्योगले बनाउन हालसम्म पनि अनुमति पाएको छैन । चिकित्सकलाई समेत भ्रममा पारी यस्ता उत्पादनहरूको सिफारिस गराउने प्रवृत्ति बढ्दै गएकोमा एप्पोनले आपत्ति जनाएको छ । औषधीजन्य पदार्थ मात्र बिक्री गर्ने अनुमति पाएका औषधी पसलबाट निर्बाध रूपमा फुड–सप्लिमेन्टहरू बिक्री हुँदा समेत सम्बन्धित निकाय मौन रहको छ ।

फुड–सप्लिमेन्टको आयातमा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य पदार्थको रूपमा अनुमति लिने तर औषधीको नामले औषधी पसलबाट बिक्री वितरण हुँदा सर्वसाधारणले यसलाई फुड–सप्लिमेन्ट औषधीको रूपमा प्रयोग गरिरहेका छन् । नेपाली औषधी उद्योगहरूले सजिलै बनाउन सक्ने फुड–सप्लिमेन्टहरू आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरू द्वारा बिक्री वितरण गर्न पाउने, चिकित्सकहरूले सिफारिस गर्न पाउने तर नेपाली औषधी उद्योगले भने उत्पादन गर्न नदिने नीतिले स्वदेशी उद्योगहरू देश भित्र उत्पादनशील क्षेत्रमा वञ्चित हुनुपरेको संघका महासचिव विप्लव अधिकारीले उक्त विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

औषधी ऐन २०३५ अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीजन्य पदार्थ बिक्री गर्ने अनुमति पाएका औषधी पसलबाट बिक्री गरिने हुँदा यो सरासर सर्वसाधारण जनतालाई भ्रममा पारी बिक्री भइरहेको कुरा प्रस्ट छ । अनुमति दिने र बिक्री गर्ने निकाय फरक फरक भई पर्याप्त नियमन नहुँदा यस प्रकारका विकृति फैलिएको संघको निष्कर्ष छ ।

तसर्थ कानुन विपरीत न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरूमा आफै लेबलिङग, प्याकिङ तथा मूल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको संघले माग गरेको । त्यस्तै स्वदेशी औषधी उद्योगहरूले सजिलै उत्पादन गर्न सक्ने यस्ता उत्पादनहरू तत्काल सरकारले उत्पादन अनुमति प्रदान गर्न जोडदार माग गरिएको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया