शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने जनाएको छ । विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडियाहरूका लागि आह्वान गरिएको वैज्ञानिक पुनले जानकारी दिएका छन् । विद्युतीय बस अनुसन्धानमा सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्ने उनले बताए । विकसित मुलुकहरूका सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरूमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरू एक पटक चार्ज गर्दा २० किलो मिटरसम्म चल्न सक्छन् । जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

तर अन्य ब्याट्रीबाट चल्ने बसहरू चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गर्दछ । सुपर क्यापासिटर लाखौँ पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ । तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिने बताइएको छ । दश देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरूको सुपर क्यापासिटरको ब्याट्री  समेत तुलनात्मक रूपमा सस्तो पर्ने गर्दछ । अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महावीर पुनले बताएका छन् ।

तपाईको प्रतिक्रिया