शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

कोरोना संक्रमणकाल पछिका दिनमा नागरिक समुदाय दैनिक जीवनयापनमा प्रविधि प्रयोगलाई प्राथमिकता दिई डिजिटल युगमा प्रवेश गरिसकेका छन् । त्यस्तै साठी वर्ष उमेर माथिका समूहले प्रयोगगर्ने स्मार्ट फोनमा समेत विभिन्न उपयोगी पेमेन्ट एप देखिन थालिसकेको छन् । प्रविधि बिना नागरिकको दैनिकी चल्न नसक्ने अवस्थामा पुगिसकेको भएपनि नेपाली सफ्टवेयर कम्पनीको विकास कछुवा गतिमा रहेको प्रोफेसनल कम्पयूटर सिस्टमका प्रमुख कार्यकारी अधिकृत इलताफ हुसैन अन्सारीले बताएका छन् । विश्वमा प्रयोगमा आएका सफ्टवेयर तथा एपमा प्रयोगकर्ता माग अनुसार नयाँ सुविधा थपिने क्रम जारी भएकै बेलामा नागरिक समाज प्रविधि मैत्री हुँदै गएका छन् ।

अन्सारी सफ्टवेयर विकास तथा बजारीकरणमा विगत २५ वर्षदेखि लागि परेका छन् । बिजनेस वल्ड डिजिटल पत्रिकाका प्रतिनिधिले उनीसँग सफ्टवेयर बजार विकासको बारेमा गरिएको प्रश्नमा उनले राज्यको तर्फबाट परियोजनागत ठुला सफ्टवेयर खरिद आव्हानको बोलपत्रमा राखिने सर्तमा सहभागी कम्पनीका वार्षिक कारोबार आकार तथा आबद्ध जनशक्तिको योग्यता स्वदेशी आइ.टी कम्पनी मैत्री नरहेको बताए । यसबाट स्थानीय प्रविधि बजार विकास खुम्चिदैं यसतर्फ आउने वार्षिक लाखौँ दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य हुनु परेको छ, किनकि ती जनशक्ति टिकाउन आइ.टी कम्पनीहरूसँग दीर्घकालीन परियोजना नै छैन ।


उता विदेशी सफ्टवेयर कम्पनीको नेपाल प्रवेश सरकारले नै सहज बनाइएकोमा उनले दुःख व्यक्त गरेका छन् । नेपाललाई आवश्यक सफ्टवेयरको उत्पादन र प्रयोगमा नेपाली आइ.टी कम्पनीहरू सक्षम हुँदै गएका छन् । हाल प्रविधितर्फका कम्पनीको संख्या १०० हराहरी पुगी ठुला आकारमा सञ्चालित १० कम्पनीमा ५ हजार जनशक्ति रोजगारमा आबद्ध भएका छन् । नेपाली सबै सफ्टवेयर कम्पनी सरकारी करको दायरामा आइसकेपनि ठुला करदाता अन्तर्गत सूचीकृत भएको पाइएको छैन ।


सरकारी निकायहरूमा नेपाली सफ्टवेयर प्रयोगलाई प्राथमिकता दिई नीति आउनु आवश्यक छ । त्यस्तै नेपाली प्रत्येक आइ.टी कम्पनीमा सफ्टवेयरका विधागत जनशक्तिहरू उपलब्ध भएकोले सरकारी सफ्टवेयर खरिद बोलपत्रमा नेपाली कम्पनीहरू संयुक्तरुपमा सहभागी हुन पाइने व्यवस्था हुनु आवश्यक छ । अर्कोतर्फ नेपालमा सफ्टवेयरको प्रयोग वृद्धि तीव्र हुँदै यसतर्फ तर्फको बजार वृद्धि दर वार्षिक १० देखी १२ प्रतिशत सम्म पुगेको छ । तर नेपाली सफ्टवेयर बजारमा विदेशी कम्पनीहरूले नै उच्च हिस्सा ओगट्न सफल भएका छन् । सरकारबाट सफटवेर उद्योग विकासमा नीतिगत सहयोग नगरिएकोले नेपाली बजारमा वार्षिक सफ्टवेयरतर्फ हुने ८ अर्बको कारोबारको प्रतिफल विदेशीहरूले बटुलिरहेको उनले बताए ।

प्रोफेसनलले सरकारका विभिन्न मन्त्रालयका लागि उत्पादन गरेका उपयोगी सफ्टवेयर मध्ये आन्तरिक राजस्व विभागका लागि एकीकृत कर प्रणाली व्यवस्थापन , निर्वाचन आयोगको मोबाइल एप तथा अर्थमन्त्रालयको बजेट व्यवस्थापन त्यस्तै सन २००९ मा सहकारी तथा गरिबी निवारण मन्त्रालयको विपन्न परिवार पहिचान एप सरकारी निकायबाट प्रयोगमा ल्याइसकेको छ । आन्तरिक राजस्व विभाग देखि विभिन्न निकायमा सफ्टवेयर लगईन संख्याको आधारमा प्रयोगकर्ता संख्या हाल १–१,५०,००० सम्म पुगेको निर्देशक अन्सारीले जानकारी गराए ।

कम्पनीले उत्पादन गरेका पुजी बजार सहयोगी शेयरप्लस, म्युचलफण्ड लगायतका सफ्टवेयरको प्रयोग उच्च हुँदै गएको छ । त्यस्तै वित्तीय संस्था व्यवस्थापन, बिमा कम्पनी, सहकारीका लागि कोअपरेटिभ प्लस, कार्यालय व्यवस्थापन, हस्पिटल प्लस, अफिस व्यवस्थापन, पे–रोल तथा जनशक्ति व्यवस्थापन लगायतका सफ्टवेयर मार्फत राष्ट्रलाई प्रविधि क्षेत्रमा आत्मनिर्भर बनाउँदै लगिएको छ । चीन तथा युरोपेली राष्ट्रहरूमा मोबाइल एप प्रयोग उच्च हुँदै गएपछि नेपालीहरू समेत एप प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । प्रोफेसनलले त्यही लहरमा हरेक सफ्टवेयरको वेब तथा एप मोडेल निर्माण गरिदिएको उनले बताए ।

 

 

तपाईको प्रतिक्रिया