शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आइएमई समूह अन्तर्गतको आइएमई मोटर्स प्रा.लि ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् उद्धारका लागि आठ मिनी अस्पतालका सुविधा सहितका सवारी साधन हस्तान्तरण गरिएको जनाएको छ । गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको उक्त विशेष समारोहमा आइएमई समूहका अध्यक्ष तथा उवासंका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अत्याधुनिक आठ मिनी अस्पतालका सवारी साधन माननीय गृहमन्त्री बालकृष्ण खाँण मार्फत राष्ट्रिय विपद् जोखिम प्राधिकरणलाई हालै हस्तान्तरण गरेका थिए । मन्त्री खाँणले उक्त अत्याधुनिक ८ सवारी साधन सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेको थिए ।

उक्त अत्याधुनिक सवारीसाधनमा ६ जनालाई एकै पटक उद्धार गरी अस्पतालका उपकरणको सुविधाको व्यवस्था मिलाइएकोले यी सवारीसाधन मिनी अस्पताल सरह भएको जानकारी गराइएको छ । यसमा जडान गरिएका पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसिटिभी क्यामेरा इत्यादि उपकरणहरूले सवारीसाधनलाई मिनी–अस्पतालमा रूपान्तरण गरी स्वास्थ्य उपचारका सम्पूर्ण सुविधा व्यवस्था गरिएको छ ।

गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भएका प्रयास अन्तर्गत, विपद्बाट बच्न घटना हुनु अघि पूर्व तैयारी मध्ये सवारीसाधन लगायतका उपकरण जुटाउन आवश्यक रहेको उनले बताए । त्यस्तै आइएमई समूहका अध्यक्ष ढकालले प्राकृतिक ठुला घटनामा तथा उद्धार सहित नागरिक जीवन संरक्षणमा नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको अत्याधुनिक सवारीसाधन (मिनी अस्पताल) पहिलो पटक उपलब्ध गराउन सफल भएको जनाइएको छ । यस प्रयासबाट दुर्घटनामा जनधनको क्षतिलाई न्यून गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्राकृतिक र अन्य विपद्को ठुलो जोखिममा रहेकोले कठिन भौगोलिक अवस्थाले गर्दा देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहको छ । ठुला दुर्घटनाका बेला सामूहिक उद्धारमा उपयुक्त सवारीसाधनको अभावमा वर्षेनि हजारौँ व्यक्तिहरू अस्पताल पुग्ने क्रममा बाटैमा ज्यान गुमाउने गरेकाले, यस प्रकारका सवारीसाधन मार्फत नागरिकको जीवन सुरक्षा थप सहज हुने बताइएको छ । उवासंघका वरिष्ठ उपाध्यक्ष ढकालले, आउँदा दिनमा कोभिड जस्ता ठुला महामारी दोहोरिने सम्भावनाको त्रास रहेको छ । सडक, हवाई र निर्माण क्षेत्रमा ठुला दुर्घटनाको सम्भावना भएकोले जनताको जीवन रक्षाका लागि राज्य सधैँ तयार रहनुपर्ने आवश्यक रहेको तर्फ गृह मन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए ।

 

तपाईको प्रतिक्रिया