शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

एकर्ड फर्मास्युटिकल्स, आइपिओ जारी गर्ने पहिलो औषधि उद्योग बन्न सफल भई सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कुल ४३ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणमा १० प्रतिशत सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । बिहीबार एक कार्यक्रम बिच एकर्डका अध्यक्ष विशाल पण्डित र आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारश ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अबका दिनमा कम्पनीले सर्वसाधारणमा ४ करोड ८० लाख कित्ता सेयर जारी गर्ने भएको छ । प्रतिकित्ता कित्ता रु १ सय रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरिने कम्पनीका अध्यक्ष विशाल पण्डितले जानकारी दिए । सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ । औषधि उत्पादनको क्षेत्रमा २०६४ सालमा लाइसेन्स पाएको एकर्ड फर्मास्युटिकल्सले इमाडोलमा १५ रोपनी जग्गामा उद्योग स्थापना गरी अत्याधुनिक मेसिनको प्रयोगबाट औषधि उत्पादन गर्दै आएको छ ।

सो उद्योगमा पुँजी बजारका सफल लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारीको पनि लगानी रहेको छ । उद्योगमा तिवारीको प्रवेशसँगै सर्वसाधारणलाई सेयर जारी प्रक्रिया अघि बढाइएको हो । हाल आइपिओ जारीका लागि विक्री प्रबन्धक नियुक्त गरिएको अबको एक वर्ष भित्रमा सर्वसाधारणमा सेयर जारी गरी सकिने उद्योगका लगानीकर्ता तिवारीले बताए ।

 

तपाईको प्रतिक्रिया