आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फन्ड (यूएनसिडिएफ) बिच डिजिटल वालेटमा रेमिटेन्स अनुसन्धान समझदारी भएको कम्पनीले जनाएको छ । समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै संस्थाहरू सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तिकर्ताहरूका समस्या न्यूनीकरणमा थप केन्द्रित हुने जनाएको छ । डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्धेशय अनुसार ग्रामीण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँच नभएका अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुने बताइएको छ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्य समेत यो समझदारीमा समेटिएको छ । यस समझदारी पछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएको जनाइएको छ ।

उक्त समझदारी कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना सन्देश पठाएका थिए । सन्देशमा आइएमई समूह रेमिटेन्स सेवा उद्योगको स्वरूपमा शुरुवात भएको जिकिर गरिएको थियो । उनले विगत सम्झीदैं उल्लेख गरेका छन् । समूहको लगानी विविधीकरण विकसित भई नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्न सफल हुँदै गएको छ । साथै राष्ट्रको अर्थतन्त्रमा उच्च रेमिटेन्स भित्राइ मुख्य स्रोत बनेको उनले उल्लेख गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमई समूहले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरू निर्माण गरिरहेको जानकारी दिँदै, युएनसीडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिटेन्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए । सन् २०२१ को सुरुवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारजनका हितका लागि सहकार्य गर्दै आइरहेका छन् । यस सर्वेक्षण तथा अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिटेन्स प्राप्तिकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यस पटकको समझदारीमा उल्लेख गरिएको उनले बताए ।

रेमिटेन्स नेपालको अर्थतन्त्र र जनताका लागि जीवन रेखा हो । त्यसै कारण आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई थप सहज बनाउँदै आएको छ । यसबाट ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिटेन्स ट्रान्सफरहरू सिधै उनीहरूको मोबाइल वालेटमा प्राप्त गर्न सक्ने गरी अद्यावधिक गरिँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणाम स्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।
रेमिटेन्समा आप्रवासी परिवारहरू विशेष गरी महिलाहरूको वित्तीय समावेशी करणमा सहयोगी हुने विश्वास दुवै संस्थाले लिएका छन् । तुलनात्मक रूपमा डिजिटल वालेटमा महिला वर्गको कमजोर पहुँचका कारणले बहुसंख्यक महिला रेमिटेन्स प्राप्तकर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्धिमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरिएको बताइएको छ । आइएमईले यूएनसिडिएफ सँगको सहकार्यमा यहीँ २० सेप्टेम्बर देखि दुई दिवसीय डाटा एनालिटिक्स र मानव केन्द्रित उत्पादन विकास कार्यशाला काठमाडौँमा आयोजना गरिएको छ । आइएमईद्वारा आयोजित अध्ययन र कार्यशाला यूएनसिडिएफसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

आइएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई–पे” आइएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई–पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरू मार्फत विभिन्न किसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति बिच हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा QR स्कायन गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज , विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध गराइएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । हाल २० लाख भन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया